लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

43

लुम्बिनी, १२ चैत । लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । माओवादी केन्द्रबाट सरकारबाट सहभागी ३ जना मन्त्रीले आज मुख्यमन्त्री लीला गिरीसमक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

“पार्टीका सबै मन्त्रीले राजीनामा दिइसक्नुभएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि बहुमतसहितको प्रदेश प्रमुखको कार्यालयमा जाँदैछौँ,” उनले भने ।

साथै जनमत पार्टीबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन् । उनले आफूले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको बताए ।

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा गत पुस २८ मा माओवादी केन्द्रका तर्फबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रूपमा सहभागी भएका थिए । त्यसको करिब एक महिनापछि मुख्यमन्त्री गिरीले माओवादी केन्द्र संसदीय दलका नेता जोगबहादुर महरा आर्थिक मामिलामन्त्री र ईन्द्रजित थारू भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारीसहित ९ सदस्य मन्त्रीमण्डल विस्तार गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...