माओवादी घटकहरुको बैठक बालुवाटारमा जारी

89

काठमाडौँ, २३ फागुन । माओवादी धारका पार्टीहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित  छन् ।

संक्रमणकालिन न्यायको सबालमा परिस्थिति बेग्लै हुन गएको भन्दै माओवादी नेताहरुको बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डविरूद्ध केहीदिन अगाडि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । उक्त निवेदनमा पक्राउ गरी फौजदारी मुद्दामा अनुसन्धान हुनुपर्ने मागदाबी गरिएको छ ।

प्रचण्डले एउटा सार्वजनिक कार्यक्रममा नै युद्धकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको मृत्युको जिम्म आफूले लिने बताएको र सोही आधारमा उनीमाथि अनुसन्धान हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।

सर्वोच्च अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको रिटपछि सर्वोच्च अदालतको इजलासले दर्ता गर्नु भनि आदेश दिएको थियो । जसअनुसार रिट दायर भइसकेको छ ।

माओवादी केन्द्रले एक विज्ञप्ति नै जारी गरेर रिट निवेदन गर्नु भन्ने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ । द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित रिटलाई दर्ता गर्ने अदालतको आदेश न्यायिक पुनरावलोकनको सिद्धान्तविपरीत भएको पनि माओवादीले उल्लेख गरेको छ ।

द्वन्द्वकालीन मुद्दा, पछिल्लो समय प्रचण्डविरूद्ध दायर भएको रिट र रिट दर्ता गर्नु भन्ने सर्वोच्चको आदेशका विषयमा छलफल गरी साझा धारणा बनाउन माओवादी धारका पार्टीहरूको बैठक बोलाइएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...