काठमाडौँ, १८ फागुन । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् ।
बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा संसदीय रिर्पोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले नेकपा (एमाले)ले जुनसुकै विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीहरूले लगेको विद्येयक पास नगर्ने गतिविधिहरूका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन् । उनले नागरिकता विधेयक राष्ट्रपतिले संसद्बाट दुई पटक पास गरेर लैजाँदासमेत फर्काउनु गलत भएको दाबी गरिन् ।
उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरूको इसारामा नागरिकता विधेयक रोकेको दाबी गरिन् । उनले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्ने बताइन् ।
“राष्ट्रपति भइसकेपछि राष्ट्रको अभिभावकको हैसियतले पार्टीको स्तरभन्दा माथि उठेर छलफल गर्नुपर्छ । नागरिकता विधेयक एकट चोटी फर्काउनु ठिक छ, तर दोस्रो पटक पठाएपछि पनि फर्काउनु भनेको संवैधानिक पदमा रहेको मान्छेले त्यस्तो गर्न मिल्छ र ? उहाँ सधैँ एमालेको मात्रै राष्ट्रपति भइराख्नुभयो । त्यहाँ जे सल्लाह हुन्छ त्यही मात्रै गर्ने, एमालेले लगेको विधेयक ओके गर्ने कानुन बनेर जाँदा रिजेक्ट गर्न मिल्छ र ? राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्छ । उहाँले कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले रिजेक्ट गर्न मिल्दैन,” उनले भनिन् ।
उपाध्यक्ष अर्यालले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् । उनले संवैधानिक पदमा रहेका व्यक्तिहरूले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा राखेर काम गर्नुपर्ने बताइन् ।
“मेरो पनि लिगेसी कतै जोडिएको छ तर मैले राष्ट्रियसभा उपाध्यक्षका रूपमा मर्यादा र सीमा नाघ्न त भएन नि । यस्तो हुँदै जाने हो भने हामीले ल्याएको व्यवस्था र परिवर्तनप्रति विश्वास गुम्न सक्छ,” उनले भनिन् ।