सुखी नेपाली अभियानमा पार्टीका जनप्रतिनिधि लाग्नुपर्छ : उपमहासचिव ज्ञवाली

37

दमौली, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने अभियानमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि लाग्नुपर्ने बताएका छन् ।

एमाले तनहुँको आयोजनामा बन्दीपुरमा सम्पन्न प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि जनतालाई सुखी बनाउने अभियानमा लाग्नुको विकल्प नभएको उल्लेख गरे ।

नेपालीको राष्ट्रिय आकांक्षा, पार्टी र जनप्रतिनिधिको भूमिका विषयमा उनले प्रशिक्षण दिएका हुन् । नेता ज्ञवालीले पार्टीबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले यही मूलमन्त्रलाई शिरोधार्य गरी काम गर्न आग्रह गरे ।

उनले जनताका सम्बोधनका लागि पार्टीले ग्रासरूट अभियान सुरू गरेको बताए । जनतासँग नजिक रहेर जनताका मुद्दा सम्बोधनका लागि पार्टीले मिसन ग्रासरूट अभियान सञ्चालन गरेको भन्दै उनले भने,“दुई महिनासम्म सञ्चालन हुने यो अभियानअन्तर्गत पार्टीका नेताहरू तल्लो तहसम्म पुगेर जनताका मुद्दा सम्बोधनमा लाग्नुहुन्छ ।”

उपमहासचिव ज्ञवालीले वर्तमान राजनीतिक अवस्थाका कारण जनतामा सिर्जित निराशा अन्त्य गराउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए । ज्ञवालीले देशमा हाल तीन वटा समस्या रहेको दाबी गर्दै ती समस्याबाट जनतालाई मुक्त गराउनुपर्ने उल्लेख गरे ।

Share This:
सम्बन्धित खबर
Loading...