पल शाहलाई उच्च अदालतद्वारा सफाइ

165

दमौली, १४ फागुन । बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरूद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदलात पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागार मुक्त हुने उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए । “शाहले मुद्दा जित्नुभएको छ, उहाँ भोलि रिह हुनुहुन्छ,” उनले भने । उच्च अदालत पोखराले १५ दिन अगाडि दुवै पक्ष झिकाउने आदेश दिएको थियो ।

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरूद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...