महेन्द्रनगर, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व संकलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको बताउँदै अर्थतन्त्रमा सुधारका राम्रा संकेत देखिएको बताएका छन् ।
आजदेखि महेन्द्रनगरमा सुरू भएको कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन उनले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए ।
आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उनले उल्लेख गरे । उनले भने, “अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रूपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ ।”
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझादारी पत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताए ।