जुम्ला, ८ मंसिर । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन् । उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।
त्यसैगरी नेकपा (एमाले) का रतननाथ योगीले छ हजार ५२८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेमकिपाका डिल्लीप्रसाद काफ्ले ९५५ मत प्राप्त गरेका छन् । जम्मा खसेको मत ४५ हजार २८४ मध्ये दुई हजार ४७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
जुम्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार टेकराज पछाई निर्वाचित भए । प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन् ।