काठमाडौँ, २ मंसिर । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात हजारभन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गर्ने भएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार स्वदेशी र विदेशी गरी ७ हजार २१९ जना पर्यवेक्षक रहने छन् ।
पर्यवेक्षणका लागि ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकले अनुमति लिएका छन् । प्रर्यवेक्षकले प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने छन् । त्यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्ने जनाइएको छ ।
निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएका छन् । २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकेको आयोगले जनाएको छ ।
मदिरा निषेध
मतदान सुरू हुने दिनभन्दा ४८ घन्टा अघिदेखि अर्थात् बिहीबार राति १२ बजेदेखि मतगणना सम्मन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने÷गराउने कार्यलाई पूर्ण रूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालय तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवन गर्ने÷गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारबाहीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।