काठमाडौँ, १५ साउन । खल्तीले आफ्ना प्रयोगकर्ताहरुलाई डिजिटल रुपमा बिमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बिमा संस्थानसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।
खल्तीसँगको सहकार्य स्वरुप उपभोक्ताहरुले अब खल्तीमार्फत् राष्ट्रिय बिमा संस्थानको बिमा प्रिमियम तिर्न सक्नेछन् । उपभोक्ताले बिमा तिर्न खल्ती एपको प्रयोग गरेर राष्ट्रिय बिमा संस्थान छनोट गर्नुपर्ने छ । त्यसपछि मागिएको विवरण भरी प्रिमियम भुक्तानी प्रक्रियालाई पूरा गर्न सकिने छ ।
सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ‘राष्ट्रिय बिमा संस्थानको भुक्तानी सुविधा खल्तीमा समेट्नु’ खल्तीका लागि एक प्रभावकारी उपलब्धि भएको बताए । उनले यो सहकार्यबाट प्रयोगकर्ताहरुलाई पूर्ण रुपमा फाइदा हुने साथै बिमा शुल्क संकलन अझै सरल र प्रभाकारी बन्ने कुरामा आफूहरु विश्वस्त रहेको उल्लेख गरे ।
प्रयोगकर्ताले ५ हजारमाथिको नवीकरण बिमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहले आफ्नो ‘खल्ती’ केवाइसी भने अनिवार्य रुपमा भेरिफाइ गराएको हुनुपर्ने छ । नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा प्रचलित र नवीन ब्रान्डको रुपमा स्थापित गररेको छ ।
खल्ती डिजिटल वालेटले बिजुली, मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।