- खड्ग विक
राज्यको शक्ति, श्रोत र अधिकारलाई राष्ट्र र जनताको हित, उन्नति र विकासका निम्ति वैधानिक र विवेकपूर्ण ढंगले परिचालन गर्न वैधानिक कानुनद्वारा स्थापित सेवा निजामती सेवा हो । यसले अन्य सम्पूर्ण सेवाहरुको नियमन, मार्ग निर्देशन एवं व्यवस्थापनसमेत गर्ने र राज्यका (Core Function) सञ्चालन गर्ने भएकाले यसलाई सम्पूर्ण सेवाहरुको मियो पनि भनिन्छ । साथै मुलुकमा शासकीय प्रणाली र सरकार परिवर्तन भएता पनि यो निरन्तररुपमा राष्ट्र र जनताको सेवामा समर्पित हुन्छ त्यसैले यसलाई स्थायी सरकार पनि भनिन्छ ।
के भइरहेको छ निजामती सेवामा ?
पछिल्लो समयमा नेपालको निजामती सेवामा देखिएका केही विकृति, विसंगति, कमीकमजोरी चरम राजनीतिकरण र भ्रष्टाचारजन्य व्यवहारका कारण यस सेवाप्रति बजारका उच्च नव प्रतिभाशाली उम्दा युवा जनशक्तिको आकर्षण घट्दै गएको देखिन्छ । प्रतिभा पलायनको समस्या बढ्दै गइरहेको छ । देशको निजामती सेवा युवा पुस्ताको आकर्षणको केन्द्रबिन्दु बन्न सकेको छैन । आम युवा पुस्तामा निराशाको भावना विकास हुँदै गएको छ । राज्यप्रतिको विश्वास भरोसा खस्किँदै गएको छ । सार्वजनिक सेवाप्रति जनताको असन्तुष्टि बढ्दै गएको पाइन्छ । राज्यले विकासको जुन गति लिनुपर्ने हो त्यो लिन सकिरहेको छैन । परनिर्भरता बढ्दै गइरहेको छ । देशमा उत्पादन र उत्पादकत्व घट्दै गइरहेको छ ।
राजनैतिक संकटकालीन अवस्था पार गरेपश्चात देशले अब विकासको गति लिन्छ भन्ने आम नागरिकको आशा निराशमा परिणत भएको छ । हामी अब देश निर्माणको बाटोमा छौँ भनेर ढुक्क साथ भन्ने अवस्था सिर्जना हुन सकेको छैन । राज्य सार्वजनिक निकाय र सार्वजनिक पद धारण गरेका व्यक्तिप्रति जनताको आक्रोश बढ्दै गएको छ । केही निजामती कर्मचारीका गलत आचरण र तिनलाई संरक्षण गर्ने हाम्रो प्रचलन, निजामती कर्मचारीले आफूलाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दै जान नसक्नु, संघीय शासन व्यवस्था अनुकूल रुपान्तरण हुन नसक्नु जस्ता कारण सिंगो निजामती सेवा बदनाम भएको छ । निजामती कर्मचारीको शाखा खस्कदै गएको छ ।
संघीय शासन व्यवस्थाको अभ्यास गर्न थालेको करिब ५ वर्ष पुग्न लागिसक्दा पनि संघीय निजामती सेवा ऐन आउन सकेको छैन । देशको समग्र प्रशासनिक व्यवस्थालाई दिशा निर्देश गर्ने संघीय निजामती सेवा ऐन आउन नसक्दा थुप्रै अन्यौलता सिर्जना भएका छन् । देशको प्रशासनिक व्यवस्था कमोजर भएको छ। विधि पद्धति लिखितम् मात्र भएका छन् । जसलाई जता मन लाग्यो, जसको जता बल पुग्यो त्यतै हाम्रा विधि पद्धति ढल्किँदै गएका छन् । हामी पद्धतिभन्दा पनि व्यक्ति केन्द्रित भइरहेका छौँ । यसले हामीलाई विकास र समृद्धिको गन्तव्यमा कदापि पुर्याउन सक्दैन । तसर्थः यथासक्य छिटो संघीय निजामती सेवा ऐन जारी गर्नुको विकल्प छैन । यसले आम कर्मचारी वर्गको सेवा शर्त र सुविधाको सुनिश्चित गरी कर्मचारीमा मनोबल बढाई सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्दछ भने सेवा बाहिर रहेका उम्दा नव प्रतिभाशाली युवा पुस्तालाई सेवामा आकर्षित गर्दछ । यसबाट देश निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति बाहिर पलायन हुनबाट रोक्न सकिन्छ ।
निजामती सेवामा युवा पुस्ता किन ?
कुनै पनि राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि देशमा प्रतिभावान युवा शक्तिको अहम् भूमिका हुन्छ । युवा शक्ति नै सम्पूर्ण शक्तिको स्रोत हो । युवा पुस्तामा रहेको जोस, जाँगर, सीप, दक्षता कौशलता प्रयोग गरेर मात्र देशको विकास सम्भव हुन्छ । युवा पुस्ता परिवर्तनका संवाहक हुन् । युवा शक्तिले मात्र देशको कायापलट गर्न सक्छ । नेपालको सन्दर्भमा निजामती सेवामा देखिएका यावत् विकृतिहरुको अन्त्य गरी यसलाई चुस्त दुस्त पार्नका लागि अब्बल युवा शक्तिलाई निजामती सेवामा भित्र्याउनु पर्दछ । ज्ञान, सीप र प्रविधिले सुसज्जित युवा पुस्ता निजामती सेवामा प्रवेश गरेमा मात्र निजामती सेवाको सुदृढीकरण हुन सक्छ।
परम्परागत प्रशासनिक व्यवस्थाबाट रुपान्तरण हुन नसकेका, परिवर्तनलाई आत्मासात् गर्न नसक्ने कर्मचारीका कारण निजामती सेवाले अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । यसलाई प्रतिस्थापन गर्नका लागि निजामती सेवामा नव प्रतिभावान् युवा पुस्तालाई यस सेवाप्रति आकर्षित गरिनु पर्दछ । तसर्थ कर्मचारीतन्त्रमा देखिएका कमी कमजोरीहरुलाई समाधान गरी यसलाई युवा पुस्ताको आकर्षकणको केन्द्रबिन्दु बनाउनु राज्यको प्रमुख दायित्व हो ।
किन आकर्षित हुने निजामती सेवाप्रति ?
निजामती सेवा एक राष्ट्रप्रेमी व्यक्तिको लागि देश र जनताको सेवा गर्ने उत्तम Platform हो । यो यस्तो सेवा हो जसमा काम गर्ने कर्मचारीलाई राष्ट्रसेवक कर्मचारीका नामले सम्बोधन गर्ने गरिन्छ । राष्ट्रको सेवा गर्न पाउनु आफैँमा एक गर्वानुभूतिको विषय हो । देशमा राजनीतिक नेतृत्वको उपस्थिति वा अनुपस्थितिको समयमा निःस्वार्थ रुपले देश र जनताको सेवा गर्न पाउनु, देश निर्माणमा आफ्नो सामर्थ्य अनुरुप आफूले सक्ने योगदान गर्न पाउनु, राज्यको स्रोत र साधनको वैधानिक एवम् विवेकपूर्ण ढंगले प्रयोग र परिचालन गर्न पाउनु अर्थात् देशको समग्र शासन सञ्चालनमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्न पाउनु सच्चा नागरिकको लागि आफ्नो जीवनको एक सुखद् पक्ष पनि हो ।
निजामती सेवामा प्रवेशका लागि स्वतन्त्र संवैधानिक निकाय लोक सेवा आयोगले स्वतन्त्र, निष्पक्ष र स्वच्छ प्रतिष्पर्धात्मक परीक्षा सञ्चालन गरी Meritocracy का आधारमा सिफारिस गरी पदपूर्ति गर्ने प्रणाली कायम रहेको छ । योग्यता र क्षमता भएका नागरिकका लागि यो एक उत्तम विकल्प हो । निजामती सेवामा सेवाको सुरक्षा, स्थायित्व, पदसोपानमा आधारित, प्रसस्त वृतिविकासका अवसर र व्यवसायिकता जस्ता विशेषताहरु हुन्छन् ।
साथै राष्ट्रसेवक कर्मचारीका लागि राज्यले स्रोत साधन र राष्ट्रिय पुँजीको अवस्थालाई मध्यनजर गर्दै जीवन निर्वाहका लागि निश्चित तलव भत्ताको व्यवस्था गरेको छ । जुन सेवामा रहुञ्जेल निरन्तर प्राप्त भइरहेको हुन्छ । र केही हदसम्म परिवार र अवकाश पछिको जीवनको सुरक्षासमेत राज्यले गरेको छ । त्यतिमात्र नभइ राष्ट्रसेवक कर्मचारीका सन्ततीका लागि उच्च शिक्षा अध्ययनार्थ छात्रवृति उपलब्ध गराउनुका साथै स्वयम् कर्मचारीका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा अध्ययन, अनुसन्धान, तालिम तथा सेमिनारको व्यवस्था गरी व्यक्तिको क्षमता विकास र प्रतिभा प्रष्फुटनमा समेत राज्यले भूमिका खेलेको पाइन्छ । सेवाको स्थायित्वसँगै आफूलाई अब्बल सावित गर्ने विभिन्न अवसरहरु प्राप्त हुन्छन् । सर्वोत्कृष्ट, उत्कृष्ट निजामती कर्मचारीलाई सम्मानको साथै पुरस्कारको व्यवस्था समेत राज्यले गरेको छ । पहिचान र सम्मानका दृष्टिकोणले समेत यो सेवा उत्कृष्ट छ। यसर्थ युवा पुस्ता यस सेवाप्रति आकर्षित हुनु पर्छ ।
वर्तमान समयमा निजामती सेवाका पदपूर्तिसम्बन्धी विज्ञापनहरुमा समायोजन र थारु आरक्षण विषयक मुद्दाहरु अदालतमा अल्झिरहँदा लोक सेवा आयोगको तयारी गरिरहेका हजारौँ विद्यार्थीको भविष्य अन्यौल भएको छ । कैयौँ विद्यार्थीहरु मानसिक, सामाजिक र आर्थिक समस्यामा परेका छन् । कैयौँ युवा प्रतिभा विदेश पलायन हुन बाध्य भएका छन् । निजामती सेवाप्रति वितृष्णा बढ्दै गइरहेको छ ।युवा पुस्तामा नैरस्यता बढ्दै गइरहेको छ । अर्कोतर्फ कर्मचारीको कुशल व्यवस्थापन हुन नसक्दा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । सेवा प्राप्तिका लागि जनताले सास्ती व्यहोर्नु परेको छ । तसर्थः सरकारले छिटोभन्दा छिटो लोक सेवा आयोगका पदपूर्तिसम्बन्धी मुद्दालाई विशेष महत्वका साथ किनारा लगाइ पदपूर्ति कार्यलाई नियमित गरिनु पर्दछ ।
यसरी निजामती सेवामा देखिएका तनाम विकृति, विसंगति, कमीकमजोरी र समस्याहरुको यथासम्भव छिटो समाधानका लागि राज्यले विशेष पहल गरी बजारमा उपलब्ध नव प्रतिभालाई यसप्रति आकर्षित गरिनु पर्दछ भने युवा पुस्ताले निःस्वार्थ राष्ट्र सेवाको भावना साथ निजामती सेवामा प्रवेश गरी देश र जनताको सेवामा समर्पित हुने सोचको विकास गर्नु पर्दछ ।
(लेखक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा कार्यरत हुनुहुन्छ)