पौडेल हत्याको निष्पक्ष छानबिन गर्न माग

151

काठमाडौँ, १८ जेठ । बाराका निर्माण व्यवसायी राकेशभक्त पौडेलको हत्याबारे निष्पक्ष छानबिन गर्न मृतकका परिवारले सरकारसँग माग गरेका छन् ।

काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरी पौडेलको हत्या भएको २० दिनसम्म पनि हत्यारा पक्राउ नपरेको भन्दै परिवारले छानबिनको माग गरेको हो ।

मृतकका परिवारका अनुसार पौडललाई योजनाबद्ध रूपमा हत्या गरिएको र घटनाबारे प्रहरीले निष्पक्ष छानबिन गरेको छैन । प्रहरीले घटनाको छानबिन नगरी अपराधी बचाउन घटनास्थलको प्रमाण नष्ट गरेको आरोप मृतकका माइला बुबा खड्गभक्त पौडेलले लगाए ।

‘घटनालाई अतिरञ्जित गरी मृतकलाई दोषी देखाउने र अपराधीलाई बचाउने षडयन्त्र भयो । अपराधी र प्रहरीको मिलमतोमा यौन आरोप लगाएर झुटो विवरण भरिएको छ,’ उनले भने ।

न्यायका लागि प्रहरी र सरोकारवालासँग पटक–पटक गुहार माग्दै आए पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘आइजिपीलाई भेटेर कुरा गर्‍यौँ । मानव अधिकार आयोगमा पुगे पनि सबैले छानबिन हुने आश्वासन मात्रै दिए,’ उनले भने, ‘हामीले छोरा गुमायौँ, न्याय पाएनौँ ।’

छोराको हत्या सम्बन्धमा निष्पक्ष छानबिन नभए राजमार्ग अवरुद्धसमेत गर्ने मृतकका परिवारले चेतावनी दिए । ‘हामी शान्तिपूर्ण आन्दोलनमा छौँ । अब न्याय पाएनौँ भने राजमार्ग अवरुद्ध गर्छौँ,’ माइला बुबा खड्गभक्त पौडेलले चेतावनी दिए ।

कसरी भयो घटना ?
३० वैशाख स्थानीय निर्वाचनका दिन ३८ वर्षीय निर्माण व्यवसायी राकेश पौडेलको मृत्यु भएको थियो । परिवार स्रोतका अनुसार पौडेल २८ वैशाखसम्म चुनाव प्रचारप्रसारमा व्यस्त थिए ।

२९ वैशाखमा घर फर्केका पौडेललाई साथीले बोलाएका थिए । तर, निर्वाचनका दिन उनी छिमेकी चित्रबहादुर क्षेत्रीको घरमा अचेत अवस्थामा फेला परेका थिए ।
त्यसपछि एम्बुलेन्सको सहायतामा अल्पाइन अस्पताल लगिएकामा त्यहाँबाट थप उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पुर्‍याइएको थियो । तर, भर्ना गरिएको केही समयपछि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

‘मृतकको टाउको पछाडि ४ सेन्टिमिटर लामो र १ सेन्टिमिटर गहिरो चोट लागेको भनिएको छ,’ बाबु चिरञ्जीवीभक्त पौडेलले थपे, ‘घटना शंकास्पद छ । तर, निष्पक्ष छानबिन भएन ।’

अपराधीलाई संरक्षण गर्न बलात्कारको आरोप लगाएको उनले दाबी गरे । ‘नाबालिकालाई बलात्कार प्रयास भएको र त्यसको प्रतिरोधमा बियरको बोतलले टाउकोमा लागेको भनिएको छ । तर, ती बालिका र उनका परिवारको बयानअनुसार त्यो पुष्टि हुँदैन,’ माइला बाबु पौडेलले भने, ‘छोराको शरीरमा अन्य चोट छ । झन्डै ९० किलो तौल र ६ फिट अग्लो मान्छेलाई १३ वर्षीय नाबालिकाले कसरी मार्न सक्छिन् ?’

Share This:
सम्बन्धित खबर
Loading...