काठमाडौँ, १३ जेठ । अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन लागिएको हो ।
यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।
यद्यपि, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय अहिले नै भइनसकेको स्रोतको भनाइ छ ।
सरकारले हाल उठाउँदै आएको बुढीगण्डकी जलविद्युत् आयोजनाको नाममा अतिरिक्त प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर र भन्सार शुल्कबाटै प्रतिलिटर ५–५ रुपैयाँका दरले कर घटाउने गृहकार्य भइरहेको बुझिएको छ ।
कर घटाउने प्रस्ताव भने मन्त्रिपरिषद्मा आपूर्ति मन्त्रालयले लगेको हो । आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ ।