झापा, २७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठुलो योगदान रहेको बताएका छन् ।
गृहनगर मेचीनगर धुलाबारीमा आयोजित चुनावी सभामा उनले भने,“अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहाल‘प्रचण्ड’को धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको यसअघिको सरकारले दुई/दुई पटकसम्म संसद् विघटन गरेर संविधान र लोकतान्त्रिक प्रहार गरेको आरोप लगाउँदै कांग्रेस महामन्त्री शर्माले संविधान र लोकतन्त्र जोगाउन गठबन्धन बनाउनुपर्ने बाध्यता आएको बताए ।
१० वर्षे सशस्त्र विद्रोह गरेको शक्ति माओवादी र लोकतन्त्रका लागि संघर्ष गरेको नेपाली कांग्रेसबीच तालमेल भएकै कारण मुलुकमा शान्ति स्थापना भएको दृष्टान्त दिँदै उनले घरपरिवार तालमेलबाट चलेजस्तै देशलाई सुव्यवस्थितरुपमा सञ्चालन गर्न गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदातालाई आग्रह गरे ।
महामन्त्री शर्मा दुई दिनयता गृह जिल्लाको चुनावी सभामा व्यस्त रहेका छन् । शर्माको गृहनगर मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन रहेको छ ।