प्रचण्डले धम्क्याउँदा कांग्रेस कार्यकर्तालाई पीर बिसाउने ठाउँ छैन : ओली

138

चितवन, २५ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गरेका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि कांग्रेस सिध्याउन लाग्दा पनि कार्यकर्ताले परी बिसाउने ठाउँ नभएको बताए ।

“चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरा साहनुभूति छ, उहाँहरुको दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरुले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौँ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरुले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर, ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।”

अध्यक्ष ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताए । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए ।

उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । “बजेट दिन्न भन्ने कुरा तपाईंहरुले सुन्नुभएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरुले दिन्न भनेर हुन्छ,” ओलीले प्रश्न गरे ।

Share This:
सम्बन्धित खबर
Loading...