काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको बताएका छन् ।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा (एमाले)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आधात पुर्याएको बताए ।
नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने,“नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रुप लियो । सुशासन र विकासको मार्गमा तीव्र रुपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो ।”
संसद् विघटनपछि सर्वोच्च अदालतले पुनःस्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने,“संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आधात पुर्यायो ।”
अध्यक्ष ओलीले २०४६ पछि एमाले १० वर्ष सरकारमा रहेको र कांग्रेस २७ वर्ष सरकारमा रहेपनि एमाले नेतृत्वको सरकारले विकास र राष्ट्रहितका धेरै काम गर्न सफल भएको दाबी गरे ।
“कांग्रेस देशलाई यथास्थितिमा राख्न पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधका कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देश हितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो,” पत्रकार सम्मेलनमा लिखित वक्तव्य पढ्दै ओलीले भने,“कांग्रेस संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्यो । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आधात पुर्यायो ।”