पोखरा, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् ।
राप्रपा कास्कीले पोखराको मानवअधिकार चोकमा आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे ।
उनले भने, “पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।” लिङ्देनले अरु पार्टीका नेतामा दम्भ र अहम्ता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एकचोटी राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे ।
“कांग्रेसलाई अब कति पटक भोट दिएर देश बन्छ होला ? एमाले, माओवादीलाई कति पटक मौका दिए बन्छ होला ? ३० वर्षदेखि हेर्यौँ । मैले आलोचना गर्न भनेको होइन,” उनले भने,“कुनै कांग्रेसको साथीले भन्न सक्छ ? शेरबहादुर देउवालाई कति चोटी थपिदियो भने देश बन्छ होला ? केपी ओली, प्रचण्डहरुलाई कति पटक दियो भने देश बन्न सक्छ होला ? एमाले, माओवादी साथीले भन्न सक्छ ?”
उनले पुरानै पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थापेजस्तो हुने तर्क गरे । “फेरि मलाई भन्न मन लाग्छ, यिनै नेता र पार्टीलाई भोट दिनु भनेको साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तौ हो । साँढेको टाङमुनी बाल्टी थापेर दुध आउँछ ? आउँदैन,” उनले भने,“त्यै भएर अहिले मुख्य विकल्प भनेको राप्रपा हो । खुलेर आउन मन हुनेहरुले खुलेरै सहयोग गर्नुस्, खुल्न नसक्नेले आफ्नै पार्टीमा बसेर हलोमा भोट हाल्नुस् ।”