देउवाले भने– संसद् चल्न नै नदिने, भंग गरेको गर्यै गर्ने पार्टीलाई चुनाव जिताएर के गर्ने ?

141

बुटवल, २४ वैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाले जथाभावी संसद् भंग गर्ने छुट नदिएको बताएका छन् । विपक्षीले विरोध गरेकै झोकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुई पटक संसद् विघटन गरेको उनको आरोप छ ।

“विरोध गर्नकै लागि प्रजातन्त्र हो । अरुले प्रतिपक्षले विरोध गरिहाले संसद् भंग गरिदिने ?” बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,“अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद् भंग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गर्यै गर्ने, उहाँको पार्टीलाई जिताएर के गर्ने ?”

अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि नै रहेको प्रधानमन्त्री देउवाले दाबी गरे । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरुलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रुपमा अर्थ्याएका छन् ।

“यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरुलाई जिताउनु आवश्यक छ । संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रुपमा बचाउन पनि गठबन्धन आवश्यक छ,” उनले भने, “गठबन्धन दलहरुबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ ।गठबन्धनका साथै सबै साथीहरुलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।”

देशको स्थायी विकास गर्न, सुकुमबासीहरुको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरु जोगाउन पनि गठबन्धन बनेको प्रधानमन्त्री देउवाले प्रष्ट पारे ।

देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औँल्याए ।

Share This:
सम्बन्धित खबर
Loading...