दाँया–बाँयाबाट बादल र बाबुरामले रुक्माङ्गतलाई ठोक् भनेर ठोकिदिएँ, प्रधानमन्त्री नै गयो : प्रचण्ड

306

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले तत्कालीन सेनापति रुक्माङ्गत कटवाललाई पार्टीकै दुई वरिष्ठ मन्त्रीहरु डा.बाबुराम भट्टराई र रामबहादुर थापा‘बादल’को दबाबमा स्पष्टीकरण सोधेको बताएका छन् । त्यतिबेला अर्थमन्त्री र रक्षामन्त्री रहेका उनीहरुले ‘ठोक् ठोक्’ भनेर दबाब दिएको प्रचण्डको भनाइ छ ।

माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिकास्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने,“रुक्माङ्गत कटवाल तीन महिनापछि त्यसै जानेवाला थिए । दाँयातिर बादल र बाँयातिर बाबुराम । ठोक् ठोक् भन्छन् जतिबेला पनि । रक्षामन्त्री बनाएकाले पनि ठोक् ठोक् भन्छ । अर्थमन्त्री पनि यसलाई ठोकिहालौँ भन्छन् । म अलिअलि ‘लाटोसोझो’ पनि छु के वास्तवमा । म मात्रै के कम भनेर ठोकिदिइहालेँ । त्यसपछि त केको हुन्थ्यो, मेरै प्रधानमन्त्री गयो ।”

प्रचण्डले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु जस्तै कटवललाई कारबाही गर्नु पनि गल्ती भएको स्वीकारे । उनले त्यतिबेला नेताको हैसियतले जनयुद्धमा जसरी निर्णय लिन नसकेको बताए । जनयुद्धमा जस्तै ‘हुन्न’ भन्न सकेको भए आज यो देश अर्कै हुन्त्यो भन्ने प्रचण्डको भनाइ छ ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०६६ वैशाखमा प्रधानसेनापति कटवाललाई स्पष्टीकरण सोधेको थियो । उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि सोधिएको स्पष्टीकरणको जबाफ आएपछि पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले उनलाई बर्खास्त गरेको थियो । तर, तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै कटवाललाई थमौती दिएका थिए । परिणामतः प्रधानमन्त्री प्रचण्डले द्वैध सत्ता सुरु भएको भन्दै राजीनामा दिएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै चौधरीलाई आजीवन काराबासको सजाय सुनाइएको छ । तर, बिहीबार कैलाली पुगेका प्रचण्डले भने,“रेशम चौधरीको टीकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन्, तर उनलाई फसाइएको छ ।”

स्थानीय तह निर्वाचनको मुखमा प्रचण्डले चौधरी निर्दोष रहेको भन्दै थारु मतदाताहरुलाई प्रभावित पार्न खोजेका हुन् । तर, माओवादी केन्द्रकै समर्थनमा बनेको सरकार भने सरकार गठन भएको १० महिनासम्म पनि सो विषयमा मौन छ ।

अध्यक्ष प्रचण्डले चौधरी निर्दोष रहेको भन्दै उनका विषयमा एक दुई दिनमै सरकारसँग गम्भीर रुपमा छलफल गर्ने बताए । बुधबार मात्रै आफ्नो सचिवालयमार्फत् चौधरीसँग कुरा भएको बताउँदै प्रचण्डले रेशमको समस्या समाधान गर्न सरकारसँग एक–दुई दिनमै गम्भीर रुपमा कुरा हुने बताए । उनले टीकापुर घटनाले ठुलो असर पारेको बताए ।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार गठन हुँदा टीकापुर घटनाका बारेमा सरकारले अध्ययन गरेको ‘लाल आयोग’को प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेको थियो । तर, अहिलेसम्म आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...