काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने निर्णय भएसँगै पार्टीभित्र देखिएको असन्तुष्टिका विषयमा छलफल गर्न देउवाले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
महानगर र उपमहानगरमा पार्टीका तर्फबाट उम्मेदवारहरुको चयन गर्न नेताहरुसँग छलफल गर्न लागेको बताइएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु डा.शेखर कोइराला, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत सहभागी हुने बताइएको छ ।
त्यस्तै, पदाधिकारीहरुमा उपसभापतिद्वय पूर्वबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बैठकमा बोलाइएको छ ।
शीर्ष नेताहरुको बैठकबाट नेपाली कांग्रेसले पाएको क्षेत्रमा क–कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय हुने बताइएको छ ।