काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विभिन्न जिल्लामा आफ्नो पार्टीलाई अपमानपूर्ण ढंगले व्यवहार भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा एकीकृत समाजवादीले आयोजना गरेको पार्टी प्रवेश एवं घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीलाई अपमान सह्य नहुने चेतावनी पनि दिए ।
अध्यक्ष नेपालले सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दा अरुको शक्तिको अवमूल्यन गर्ने गरेको र अपमानपूर्ण ढंगले पनि व्यवहार भइरहेको भन्दै आफ्नो पार्टी अपमान सहनका लागि नभएर विद्रोह गरेर जन्मेको धारणा राखे ।
उनले गठबन्धनभित्र सहमति खोज्ने र सहमति नभएका स्थानमा मित्रवत ढंगले प्रतिस्पर्धाका आधारमा जाने टुंगो लागेको उल्लेख गरे । सात महिनामै मेचीदेखि महाकालीसम्म पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै आफ्नो पार्टीको भविष्य उज्जल रहेको उनको भनाइ छ ।
अध्यक्ष नेपालले जनमुखी स्थानीय सरकार, विकास समृद्धिको आधार नाराका साथ घोषणापत्र सार्वजनिक भएको भन्दै जनताको विकासको चाहना र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए । उनले आफ्नो तहको विकासको मास्टरप्लानसहित जनतामाझ जान निर्देशन दिए ।