प्रथम गोर्खा खुला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता हुने

115

पोखरा । गोर्खा कम्युनिटी पोखराले प्रथम गोर्खा खुला भेट्रान्स डबल्स तथा अन्तर पल्टन ब्याडमिन्टन प्रतियोगिता २०७९ गर्ने भएको छ ।

वीर तथा इमान्दार गोर्खाजहरुको स्थापना भएको २०७ वर्षको उपलक्ष्यमा वैशाख ११ र १२ गते पोखरा ८ बगाले टोलस्थित सोपाल तमु समाज ब्याडमिन्टन हलमा प्रतियोगिता गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

३८ देखि ५५ वर्ष, ५६ देखि माथि र अन्तर पल्टन टिम प्रतियोगिता (डबल्स र सिंगल)इभेन्टका खेलहरु हुने प्रतियोगिता संयोजक तथा गोर्खा कम्युनिटी पोखरामा संस्थापक अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिए ।

समाज विकासका लागि भूमिका रहेको गोर्खाजहरुलाई खेलमार्फत् पोखरालाई योगदान पुर्याउन आयोजित प्रतियोगिताको खुल्ला डबल्सतर्फ प्रथम हुनेले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने र अन्तर पल्टन विजेता हुनेले समेत २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख ५० हजार खर्च हुने र १०० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीका लागि वैशाख ९ गतेभित्र पेन्सन पट्टाको फोटोकपी, पासपोर्ट साइजको फोटोसहित खेलाडीको नाम दर्ता गर्नुपर्ने र वैशाख १० दिनको १२ बजेभित्र पोखरा १० बुद्धचोकस्थित गोर्खा सहकारी भवनमा खेलको टाइसिट सार्वजनिक गरिने गोर्खा कम्युनिटी पोखराका अध्यक्ष क्या.चोकबहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष क्या.गुरुङले गोर्खाहरुलाई नेपाली खेलकुद क्षेत्रमा पनि ठुलो भूमिका रहेको भन्दै गोर्खाजको योगदानलाई सम्मान गर्न पत्रकार सम्मेलनमा आग्रह गरे । यसरी नै रेडियो गार्खालीकी संस्थापक अध्यक्ष सावित्री गुरुङले मिडियाले गोर्खाजहरुको गतिविधिलाई प्रचार प्रसारमा कन्जुस्याइँ नगर्न अनुरोध गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...