नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति पुन

215

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्वकै चिनारी भएको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, साँस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताए ।

उनले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गरे । उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गरे ।

केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उनले उल्लेख गरे । उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताए ।

नेपाली कलाको इतिहास दुई हजार वर्षदेखिकै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तामानमा हरेक विधामा कला सिर्जना हुँदै आएको उनको भनाइ थियो । अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उनले बताए ।

ललितकलालाई बचाइराख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याए ।

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...