कर्मचारीहरु नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

109

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कर्मचारीहरु सेवाग्राहीप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौँ अधिवेशनको काठमाडौँमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजश्वबाट पालिएका सबै जना जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिइन् ।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभइ सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यवहारिक समस्या समाधान गर्न मन्त्रालय र आफू तयार रहेको बताइन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरु प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरु पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छबी हटाउने गरी काम गर्न सम्बद्ध सबै पक्ष एक भएर लाग्न आवश्यक रहेको औल्याइन् ।

उनले कर्मचारीहरुले जनउत्तरदायी र पारदर्शी भएर काम गर्नु पर्ने र राम्रा काम गर्नेलाई प्रोत्साहन तथा पुरस्कारको समेत व्यवस्था हुनुपर्ने कुरामा आफूले सधैँ जोड दिँदै आएको भन्दै अब चक्रिय प्रणालीमा सरुवा गर्ने व्यवस्थ गर्न ढिलाइ गर्न नहुने पनि बताइन् ।

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्ने र जमिन दिने कुरालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै टिमबद्ध भएर काम गर्दा समयमा नै काम गर्न सकिने भएकाले यसतर्फ लाग्न कर्मचारीहरुलाई आग्रहसमेत गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...