सङ्खुवासभा बस दुर्घटना : सेनाको हेलिकप्टर पुग्यो [अपडेट]

445

खाँदबारी । सङ्खुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।

१४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौँ लैजान सेनाको हेलिकप्टर आइपुगेको हो ।

घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् । सङ्खुवासभाको मादी नगरपालिका–६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । बस दुर्घटनामा मृत्यु हुने १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...