प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

102

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले हालै सुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ ।

दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कोरोना संक्रमण जोखिमको बेला अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको कार्यालय प्रमुख अर्यालले बताए ।

यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवाप्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातिसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृतिलाई पेपरलेस बनाउन निर्देशन दिएसँगै छिटो, छरितो र पारदर्शी र गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम सुरु भएको थियो ।

अनलाइनमा कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही इन्टरनेट सर्भरको समस्या हुनसक्ने भएकाले तीन दिन अगाडि अनलाइन फाराम भर्न कार्यालयले भनेको छ । अनलाइन प्रणालीमा समय बढी लाग्ने र खर्चिलो हुने तथा ई–पासपोर्टसँग म्याचिङ नहुने भनि अफवाह फैलाइएको भन्दै कार्यालयले सेवाग्राहीले विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति दिने गरिएको जनाएको छ ।

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ ।

म्यादी जीवन बीमाको शुल्क उमेर अनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि १ हजार ५०० रुपैयाँ शुल्क लाग्ने कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए । जीवन बीमा र कल्याणकारी कोषसमेत गरी ३५ वर्षसम्मका लागि ५ हजार २०८ रुँपैया, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ रुँपैया र ५१ वर्ष देखि माथिका लागि १० हजार ९६३ रुपैयाँ मात्र शुल्क लाग्छ ।

यदि घरमा नभरेर अन्यत्र अनलाइन फाराम भर्नुपरेमा आफूलाई लाग्ने शुल्कको बारेमा पूर्ण जानकारी राखी नठगिन कार्यालयले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...