काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीमा लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने बताएका छन् ।
बुधबार आफूनिकटको बैठकमा ४ बुँदे धाराण राख्दै उनले सभापति शेरबहादुर देउवाले कुन मापदण्ड अपनाएर केन्द्रीय समितिमा मनोनयन गरेको हुने भन्ने पनि प्रश्न गरेका छन् ।
“पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर, के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्ति हुनुभएको हो ? हामी जान्न चाहन्छौँ,” उने भने,“पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।”
उनले पार्टी सभापतिले पनि ‘लाइक’ र ‘डिस्लाइक’बाट व्यक्तिको छनोट गरे पार्टीमा दुर्घटना हुने चेतावनी पनि दिएका छन् । “सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न गर्ने किन नगर्ने ?” उनले भने,“हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौँ होला, तर पार्टीभित्र हुने सबै कार्यहरु न्यायसंगन, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौँ ।”
उनले भर्खरै सम्पन्न महाधिवेशनबाट जित्ने र हार्ने कुनै पनि पक्षबाट कटुता, विभाजन र असहयोगको भावना आउन नहुने बताए । नेतृत्वबाट न्याय हुन नसकेको अवस्थामा भने आवाज उठाउनैपर्नेमा जोड दिए ।
त्यस्तै, उनले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने जिकिर गरे । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न एकढिक्का भएर प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । डा. कोइरालाले तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा कटिवद्ध रहेको धारणा राखे ।