काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा धर्नामा बसेका महिलाको माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्कने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले काठमाडौँको माइतिघर मण्डलामा धर्नामा बसेका महिलाहरुको स्वास्थ्य स्थिति परीक्षण गर्न गराउन र माग सम्बोधन हुने प्रत्याभूति गरी घर फर्कने वातावरण बनाउन महिला आयोग, गृह मन्त्रालय , महिला बालबालिका मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीहरू गत मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।
त्यस्तै, बैठकले महिला हिंसा, लैंगिक हिंसाका घटनाहरु संवेदनशील भई पूर्वाग्रह नराखी अनुसन्धान गर्न पनि निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।
बैठकले महिला हिंसाका सम्बन्धमा परेका उजुरीहरुलाई द्रूतमार्गबाट शीघ्र किनारा लगाउन साथै पीडितको सुरक्षाको सुनिश्चितता गर्न पनि निर्देशन दिइएको जानकारी दिइन् ।