तोकिएकै समयमा काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको राष्ट्रिय भूमि आयोगलाई निर्देशन

70

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले तोकिएको कार्य तोकिएकै समयमा उत्कृष्ट रुपले सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएकी छन् ।

मन्त्रालयमा आज राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कर्मचारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले काम गर्दा केही नीतिगत र कानुनी रुपमा समस्या छन् भने त्यसको समाधानका लागि समयमा नै मन्त्रालयमा जानकारी गराउन निर्देशन दिँदै त्यसलाई तत्काल सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताइन् ।

मन्त्री श्रेष्ठले यो वा त्यो वहाना देखाएर काम पन्छाउने वा भाग्न नपाइने भन्दै भूमिसम्बन्धी समस्या समाधान गर्न बनाइएको कार्ययोजना अनुसार जति सक्दो छिटो र परिणाम निस्कने गरी काम गर्न समेत निर्देशन दिइन् ।

बैठकमा राष्ट्रिय भूमि आयोगको हालसम्मको प्रगति समीक्षा र आगामी कार्ययोजनाका विषयमा छलफल भएको थियो ।

छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले कार्य सम्पादनमा प्रभावकारिताका लागि मन्त्रालय सबै किसिमले सहयोग गर्न तयार रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगले पूर्णता पाएको दिनदेखिनै प्रभावकारी रुपमा काम गर्दै आएको र सरकारले जुन उदेश्य लक्ष्य र प्राथमिकताका साथ जिम्मेवारी दिएको छ त्यो पूरा गर्न आफूहरु तत्पर रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अघिल्लो आयोगले गरेको कामको स्वामित्व ग्रहण गर्दै परिवर्तित सन्दर्भअनुसार छिटो र प्रभावकारी रुपमा काम सम्पन्न गर्न प्रतिवद्ध रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...