मुख्यमन्त्री शाहीले भने, ‘बीचमै छोड्नु मेरो धर्म र नैतिकता होइन’

277

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि एक वक्तव्य जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन आफू प्रतिबद्ध रहने बताएका छन् । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका मुख्यमन्त्री शाही डा.शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका बद्री पाण्डेसँग पराजित भएका थिए ।

उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाइ तथा शुभकामना समेत दिएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत÷हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ ।

पार्टीमा महामन्त्रीका लागि उम्मेदवार बनेका रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पराजित भएसँगै पदबाट राजीनामा दिएका थिए । शाही पराजित भएपछि पनि उनले राजीनामा दिन्छन् कि दिँदैनन् भन्ने चर्चा कांग्रेसभित्र चलेको थियो । यसबीच उनले आफूले पाएको जिम्मेवारी बीचमा छाडेर नजाने बताएका छन् ।

“म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीनवबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन,” उनले भनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...