काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई आफूले निःशर्त समर्थन गरेको बताएका छन् । एक वक्तव्य जारी गर्दै आफूले कुनै पदका लागि देउवालाई समर्थन नगरेको स्पष्ट पारेका हुन् ।
कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका सिंह पहिलो चरणको मतदानबाटै बाहिरिएका थिए । दोस्रो चरणमा उनले देउवालाई समर्थन गरेका छन् ।
पहिलो चरणमा पहिलो र दोस्रो स्थान ओगटेका देउवा र डा.शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्र्धा भइरहेको छ । देउवाले प्रधानमन्त्री दिने प्रतिबद्धता जनाएपछि सिंहले समर्थन गरेको कुरा बाहिरिएको थियो । त्यसको खण्डन गर्दै उनले सामाजिक सञ्जालमार्फत आफूले निःशर्त समर्थन गरेको प्रष्टीकराण दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्
आदरणीय पत्रकार साथीहरू
जय नेपाल
नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा मैले श्री शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ ।
निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।
जय नेपाल
प्रकाशमान सिंह