कांग्रेसले तीनै तहको चुनाव एक्लै जित्नुपर्छ : गगन थापा

282

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफू महामन्त्रीमा निर्वाचित भए गलत व्यक्तिलाई छानिएछ भनेर सोच्ने अवस्था आउन नदिने बताएका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित उम्मेदवारीको अवधारणा सार्वजनिक कार्यक्रममा उनले आफूले विद्यार्थी आन्दोलन, सांसद् तथा मन्त्रीको रुपमा काम गर्दा कांग्रेस सदस्यको शीर निहुर्याउन नदिएको बताए ।

नेता थापाले यो महाधिवेशनबाट नयाँ संकल्प लिएर अघि बढ्नुपर्ने बताए । “अब हामीले कांग्रेसलाई कुनै पार्टीबाट डराउनु पर्दैन भन्ने बनाउनुपर्छ,” उनले भने,“यो महाधिवेशनपछि कांग्रेसले तीनै तहको चुनाव एक्लै जित्नुपर्छ । चुनाव किन जित्नुपर्छ ? हामीले किन चुनाव जित्ने ? हामीले चुनाव जितेनौँ भने के हुन्छ ? अब हामी प्रष्ट हुने बेला आएको छ ।”

नेता थापाले कांग्रेसले चुनाव हार्यो भने नागरिकले के गुमाउँछन् हेक्का हुनुपर्ने पनि बताएका छन् । उनले कांग्रेसको सपना चुनाव जित्ने मात्रै हुनुपर्नेमा जोड दिए । “२००७ सालको महाधिवेशनपछि कांग्रेस भन्ने पार्टीको एउटा काम छ चुनाव जित्नु,” उनले भने,“आज कांग्रेसलाई एउटा नयाँ सपना नयाँ संकल्प चाहिएको छ । त्यही भएर म महामन्त्रीका रुपमा अघि बढ्न खोजेको छु ।”

थापाले महाधिवेशनपछि पार्टीको लक्ष्य ‘सम्मुनत नेपाल, सम्मानित नेपाली’ हुने बताए । ‘सम्मुनत नेपाल, सम्मानित नेपाली’ लक्ष्य २०७८ सालको अधिवेशन पछाडि नेपाली कांग्रेसको लक्ष्य हो,“थापाले भने,“जसरी २००६ सालमा कांग्रेसको मिसन के थियो ? विपीले सानो पर्चामा लेख्नुभयो ‘हाम्रो ध्येय नेपालमा जनताको शासन स्थापित गर्ने, २०४६ सालमा सर्वोच्च नेता गणेशमान सिंहले भन्नुभयो, कांग्रेसको मिसन पञ्चायतलाई फ्याँक्ने, जनताको शासन पुनःस्थापित गर्ने । ३० सालमा शिखर पुरुष गिरिजाप्रसादले भन्नुभयो ,हाम्रो ध्येय हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने । २०७८ सालपछि कांग्रेसले भन्छ नेपाललाई सम्मुनत बनाउने, प्रत्येक नेपालीलाई सम्मानित बनाउने छ ।”

यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा स्थापित गरेका थिए । थापाले त्यसैको नक्कल गरेको प्रतिक्रिया आइरहँदा थापाले यी दुई अवधारणामा धेरै भिन्नता भएको बताए ।

समृद्ध नेपाल र समुन्नत नेपाल फरक कुरा भएको उनको विष्लेषण छ ।

“समृद्ध नेपालका परिकल्पनाकारले बोलेको भाषणका अन्तरवस्तु हेर्नुस् । पानीजहाज, फराकिलो बाटो, भ्युटावर, चुच्चे रेल…. तर त्यो रेलमा बस्ने मान्छेको अत्तोपत्तो छैन । भ्युटावर छ तर, त्यहाँबाट भुइँ मान्छे देखिँदैनन्,” थापाले भने ।

उनले सम्मुनत नेपाल भनेको गन्त्यव्य नभएर निरन्तरताको यात्रा र संकल्प भएको बताए । भोलिका दिनमा वंश, जात र लिंगका आधारमा हुने विभेद घट्दै गयो भने देश समुन्नतितर्फ लागेको भन्न मिल्ने उनले भनाइ छ ।

“जनताका न्यूनतम आवश्यकताको स्तर बढ्दै गयो भने त्यसलाई समुन्नतितर्फ बढ्दै गयो भन्न सकिन्छ,” उनले भने ।

पूर्णपाठ

Gagan Thapa
Share This:
सम्बन्धित खबर
Loading...