राष्ट्रिय सम्मेलन : माओवादीले कसरी चयन गर्दैछ १५ सय प्रतिनिधि ?

289

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १ हजार ५०० प्रतिनिधि सहभागी हुने भएका छन् । काठमाडौँको प्रज्ञा भवन कमलादीमा ११ पुसदेखि १३ सम्म माओवादीले राष्ट्रिय सम्मेलन गर्दै छ ।

राष्ट्रिय सम्मेलनका लागि मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागबाट प्रतिनिधि चयन गर्न निर्देशन जारी गर्न अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको छ । राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १ हजार ५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय भएको छ ।

८० वटासम्म पालिकाहरु भएका प्रदेशमा प्रदेश समिति १७५ सदस्यीय कायम गर्ने र सोभन्दा बढी पालिकाहरु भएका प्रदेशहरुमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समिति १/१ जना सदस्य थप गर्ने निर्णय गरिएको छ ।

सम्मेलनले नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुंगो लगाउने माओवादीले जनाएको छ । प्रत्येक प्रदेशले कम्तिमा १ जना घाइते अपांगताहरुलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय माओवादीले गरेको छ ।

केन्द्रीय पदाधिकारीबाट करिब ५ सय जना राष्ट्रिय सम्मेलनमा सहभागी हुन्छन् ।

माओवादीले सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई प्रतिव्यक्ति २ हजार शुल्क तोकेको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले खाने, बस्नेलगायत खर्चको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय स्थायी समितिले गरेको छ ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जनका लागि माओवादीले देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लिलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादल रहेको समिति गठन गरेको छ ।

सम्मेलनका लागि अध्यक्ष प्रचण्ड अहिले राजनीतिक दस्तावेज लेखनको तयारीमा जुटेका छन् ।

सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा र जगत सिंखडा रहेको व्यवस्थापन समिति र कृष्णबहादुर महाराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...