बागलुङमा १७ मंसिरदेखि मतदाता नामावली संकलन गरिने

265
  • थम्मन थापा

बागलुङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली संकलन अभियान सुरु गर्ने भएको छ ।

बुधबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तिरक्रिया गर्दै जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख ओमनारायण शर्मा ढुंगानाले यही मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान सुरु गर्ने जानकारी गराए ।

ढुंगानाले जिल्लामा हाल १ लाख ८८ हजार १५ मतदाता रहेको र ३ हजार ४७० जना नयाँ थपिने बताए । उनले नामावाली संकलन कार्यक्रम दुई चरणमा गरिने समेत जानकारी दिए । पहिलो चरण मंसिर १७ देखि २६ र दोस्रो चरण २८ गतेदेखि सुरु हुने बताए ।

पहिलो चरणमा तमानखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिका र दोस्रो चरणको २८ गतेबाट निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा गरिने जानाकारी दिए ।

मतदाता नामावली दर्ता गर्न छुट भएका व्यक्तिहरुले जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सकिने बताए । नामावली दर्ता जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट निरन्तर चलिरहने ढुंगानाले बताए ।

मतदाता नामावली दर्ताका लागि नेपाली नगारिकताको प्रमाण–पत्रको सक्कल र प्रतिलिपि साथमा लिइ जानु पर्ने उनको भनाइ छ । मतदाता नामावली दर्ता गर्न छुटेका व्यक्तिहरुले जिल्ला बाहिर वा आफू रहेको ठाउँबाट पनि दर्ता गर्न सक्नेछन् ।

२०७७ पुष महिनासम्म जिल्लाका १ लाख ८८ हजार १५ जना मतदाता नामावलीमा समावेश भएका छन् भने त्यस पछिको अवधिमा ३ हजार ४७० थपिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...