काठमाडौँ । नेकपा (एमाले)को दशौँ महाधिवेशन अन्तर्गत सोमबार बिहान विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने क्रम जारी छ । अहिलेसम्म अध्यक्षका लागि केपी शर्मा ओली, भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल र विष्णु पौडेलको उम्मेदवारी परिसकेको छ ।
त्यस्तै अध्यक्ष ओलीको सूचीमा नपरेका निवर्तमान सचिव तथा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सचिवमा योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो ।
एमालेको १०औँ महाधिवेशनको बन्दसत्रमा सर्वसम्मतिका लागि भन्दै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ । पार्टीभित्र भीम रावल, घनश्याम भुसाललगायतका नेताहरुको विरोधकाबीच अध्यक्ष ओलीले दिनभरको होमवर्कपछि प्रस्ताव ल्याएका हुन् ।