चितवनको ‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन हो : गगन थापा

357

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले एमालेले गरेको महाधिवेशन ‘महाधिवेशन नभइ ओलीवेशन’ भएको टिप्पणी गरेका छन् । नेता थापाले काठमाडौँमा आफूपक्षीय जिल्ला सभापतिको उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणामा बोल्दै यस्तो बताएका हुन् ।

पार्टीमा मत भएकैले मतभेद हुने गरेको उनले बताए । ओलीवेशनमा मत हाल्न कोही स्वतन्त्र नरहेको आरोप लगाउँदै उनले भने,“त्यहाँ सबै ‘बा’का छोराछोरीहरु मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै भन्छन् । त्यहाँ मत हाल्न कोही पनि स्वतन्त्र छैनन् ।”

ओलीको पाउमा जसले तेल बढी घस्न सक्छ उही नै नारायणी किनारसम्म आउन सकेको उनले आरोप लगाए । उम्मेदवारी घोषणा तथा पार्टीभित्र हुने मतभेदलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए ।

नेता थापाले कांग्रेसको अधिवेशन र एमालेको ओलीवेशनलाई लिएर अलमलमा नपर्न आग्रह गरेका छन् ।

“हिजो मेरो टोलका अभिभावकहरुले सोध्नुभयो । एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्यो, थाहै भएन । आज नारायणी किनारमा मति ठुलो सभा भयो । अधिवेशन त यस्तो पो हुनुपर्छ । तिमीहरुले हेर्यौँ, उता भिडेको छ, यता बाझेको छ, जताततै लफडै–लफडा छ,” थापाले आफूले जबाफमा काकाहरुलाई भनेको सुनाउँदै भने,“एमाले र हामीहरुबीचमा अलिकति फरक छ । हाम्रो अधिवेशन हो, त्यो ओलीवेशन हो । अधिवेशन र ओलीवेशनमा फरक छ । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरु सहभागी हुन्छन् । हरेक कार्यकर्ता आफैँमा एउटा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ, त्यहाँ मतान्तर हुनसक्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैन ।”

उनले १४औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताए ।

नेता थापाले संसारभरि लोकतन्त्रिक पार्टीहरुमा एकपटक सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि हारे÷जिते विश्राम लिनुपर्ने अभ्यास रहेको भन्दै नेताहरुसँग आफूले त्यही आग्रह गरेको सुनाए ।

“संसारभरिको डेमोक्रेटिक अभ्यासमा सभापतिमा प्रतिस्पर्धा गरिसकेपछि स्वभाविकरुपमा पार्टीको राजनीतिबाट विश्राम लिनुपर्छ । र आमनिर्वाचनमा गइसकेपछि पार्टीले चुनाव हार्यो भने पनि पार्टीको सभापतिबाट राजीनामा दिनुपर्छ र विश्राम लिनुपर्छ,” उनले भने ।

नेता प्रकशमान सिंह र थापाको गठबन्धनले काठमाडौँ सभापतिमा कृष्ण बानियाँलाई उठाउने भएको छ । उक्त समूहबाट उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...