संसद् विघटनसँगै संविधान र गणतन्त्र उल्ट्याउने ओलीको षड्यन्त्र थियो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुईपटक संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रुपमा अगाडि आएको बताएका छन् ।
माओवादीको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले ओली देशभित्र र बाहिरका शक्तिसँग मिलेर षड्यन्त्रमा लागेको बताए । “प्रतिनिधिसभा विघटन गरेर संविधानसँगै गणतन्त्र, संघीयता, समावेशिता र समानुपातिक व्यवस्था उल्ट्याउने षड्यन्त्र थियो । यो ओली गुटको मात्रै थिएन उनलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले साथ दिएका थिए । संसद् विघटन संविधान उल्ट्याउने षड्यन्त्रको अंग थियो,” प्रचण्डले भने ।
ओलीले तत्कालीन नेकपामा अल्पमतमा परेपछि विदेशी शक्तिका साथै मुलुकका संवैधानिक निकायहरुको दुरुपयोग गरेको प्रचण्डको भनाइ थियो । “वैदेशिक शक्तिका साथै देशभित्रका संवैधानिक निकायहरुको दुरुपययोग गरेर पार्टी विभाजनको कृत्रिम नाटक गरियो । दुईवटा पार्टी फेरि पुरानै ठाउँमा गएको भनियो,” प्रचण्डको भनाइ थियो ।
२०७५ सालमा माओवादी र एमालेबीच एकता हुँदाका बखतको समझदारी ओलीले अस्वीकार गर्दा समस्य उत्पन्न भएको पनि प्रचण्डले बताए ।
प्रचण्डले चितवनको सौराहामा जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’को संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरेका छन् । उनले पार्टीको हेडक्वार्टरमा सुझाव र आलोचना पठाएर राष्ट्रिय सम्मेलनलाई वैचाकिर संश्लेषणको थलो बनाउन कार्यकर्तालाई आग्रह गरे ।
“अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौँ । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न विचारलाई संगठनात्मक आचारण व्यहारलाई ध्यान दिनेछौँ । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन,” उनले भने ।