कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : नेता सिंह

292

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।

कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गर्नका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

“पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन आवश्यक छ,” उनले भने । नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टीलाई जनताको चाहनाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

विसं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रसले तीन तहका निर्वाचनमा किन हार्यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आशा र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए । उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढंगले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे ।

कांग्रेस काठमाडौँका सभापति उम्मेदवार बानियाँले कांग्रेस संगठनलाई थप सशक्त बनाउनका लागि आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिन लागेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...