डाँडापारिको विकासका लागि पार्टी प्रतिबद्ध छ : प्रचण्ड

284

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई टेलिफोनमार्फत् सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई विस्तार गरी नयाँ क्रान्तिकारी पार्टी बनाउने अभियानमा जुटिरहेको बताए । प्रचण्डले महाभारत क्षेत्रका जनताको विकासको चाहना र आकांक्षालाई पूरा गर्ने सवालमा आफू निकै प्रयासरत रहेको पनि उल्लेख गरे ।

आफ्नो पहलमा जिल्ला सदरमुकामदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने पक्की सडक निर्मााण गर्नका लागि ५० करोड विनियोजन भइसकेकोमा त्यसलाई पूर्णता दिन पहल गरिने उल्लेख गर्दै उनले त्यही बेला पहल खोजिएको विद्युतीकरणको केन्द्रीय प्रसारण लाइनको काम अहिले तीव्र गतिमा अगाडि बढेको र त्यसलाई पनि पूर्णत दिन आफ्नो प्रयास केन्द्रित रहने पनि बताए ।

कोखाजोर खोलाको जलविद्युत् आयोजनाका लागि प्रक्रिया अगाडि बढिरहेकाले यसमा आवश्यक सहयोगका लागि र पिथन्लीदेखि घर्तीछाप हुँदै मकवानपुरको फापरबारी जोड्ने सडकलाई राष्ट्रियरुपमा स्तरोन्नतिका लागि सम्बन्धित निकायमा कुरा गरेर अघि बढाइने प्रचण्डले जानकारी दिए ।

पार्टी पुनःगठनको महाअभियान चलाउने र पार्टीलाई नयाँ क्रान्तिकारी पार्टीमा रुपान्तरण गरेर छाड्ने अठोट गरिएकाले देशव्यापीरुपमा सदस्यता नवीकरणदेखि टोल भेला हुँदै वडा, पालिका तथा प्रदेश हुँदै राष्ट्रियस्तरको सम्मेलन गर्ने अभियानमा आफू जुटिरहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले मौसमको खराबीका काराण त्यहाँ पुग्न नसकेपछि काठमाडौँबाटै फोनमार्फत् सम्बोधन गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...