संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न माओवादीले मात्रै सक्छ : मन्त्री श्रेष्ठ

131

 काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धिको रक्षा र त्यसलाई संस्थागत विकास गर्न अहिलेसम्म पार्टीले गरेका राम्रा कामहरुलाई लिएर जनतासम्म जानुपर्नेमा जोड दिएकी छन् ।

नेकपा (माओवादी केन्द्र)को कठमाडौँको तार्केश्वर नगर सम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीयता लोकतान्त्रिक गणतन्त्र र प्राप्त नागरिक अधिकारको विषय माओवादीको एजेन्डा र पहलबाट स्थापित भएकाले यस विषयमा नागरिकलाई स्पष्ट पार्नु पर्ने बताइन् ।

मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धिलाई संस्थागत गर्न अब माओवादी केन्द्रले मात्रै सक्ने पनि बताइन् ।

उनले संविधानको रक्षाका लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि भूमिहीन दलित, भूमिहिन सुकुम्बासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अगाडि बढाएको बताइन् ।

उनले मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम सुरु गरिसेको भन्दै उपत्यकामा रहेको स्ववासी, गुठीलगायतका समस्या समस्या समाधान गर्न आफूले काम सुरु गरिसकेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा निर्देशन जारी गरिसकिएको पनि जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले भूमिहीन, दलित, सुकुम्बासी, महिला, जनजाति, पिछडिएको क्षेत्र वर्गको अधिकार स्थापित गर्ने एजेन्डा र नीति माओवादी केन्द्रको भएकाले आफू भूमिहीनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उदेश्य र मर्म अनुसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने तथा युवालाई विदेशीन नपरोस भन्ने गरी काम सुरु गर्न लागेको पनि जानकारी दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...