न्यायालयको विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : नेपाल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताएका छन् ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, “हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र सांवाद नै हो, अरु कुनै विधि नै छैन । त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।”
समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुने गरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।
नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जाने विषयमा नियमित छलफल भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले तीनै तहको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा पाँच दल सहमत रहेको बताए ।
चरण–चरणमा निर्वाच्न गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकैपटक गर्दा उपयुक्त हुने उनले सुझाव दिए । त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उनको सुझाव थियो ।