शिक्षामन्त्री पौडेल र जर्मनका राजदूतबीच भेटवार्ता

76

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा.थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामो विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।

भेटवार्तामा मन्त्री पौडेलले नेपाल र जर्मनबीच १९५८ मा कुटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुलेयता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गरे ।

मन्त्री पौडेलले नेपालमा संघीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवम् समतामूलक ढंगबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराए ।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गरे ।

जर्मनका राजदूत प्रिन्जले नेपालका विद्यार्थीहरुले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताए ।

नविकरणीय ऊर्जा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा आदानप्रदानलगायतका विषयमा नेपालसँग सहकार्य र सहयोग गर्न इच्छुक रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...