रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

224

काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले १०औँ महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।

तर, उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषाणा गरिसकेका छन् । यसले गर्दा राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने,“उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।”

उम्मेदवारी फिर्ता नगरी चुनावमा जाँदा निराश हुने र आन्दोलनलाई क्षति पुर्याउने कुरा नहोस् भनेर सचेत भएर उम्मेदवारी फिर्ता लिँदा राम्रो हुने बस्नेतको भनाइ छ ।

रावलले वरिष्ठ उपाध्यक्ष चाहेको, त्यो नभए कम्तिमा उपाध्यक्षमा निरन्तरता हुने गरी सुनिश्चितता खोजेको, तर त्यस खालको संकेत नपाएपछि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको ओली निकटका नेताहरुले अनौपचारिक रुपमा बताउँदै आएका थिए ।

सोही सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बस्नेतले रावललाई उपाध्यक्षमा निरन्तरता दिन आग्रह गरेका हुन् ।

यसअघि नै पार्टीले विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकाले चितवनमा हुने १०औँ महाधिवेशनमा नेतृत्व चयन गरिने उनले बताए । उनले भने,“जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौँ । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौँ । नारायणी किनारादेखि गैँडाकोट सबै भू–भाग मानव सागरले भरिन्छ ।”

उनले अध्यक्ष ओलीले आजसम्म मुख खोलेर कसैलाई पनि यो पदमा उम्मेदवारी दिनु भनेर नभनेको पनि स्पष्ट पारे । उनले भने,“मेरो उम्मेदवारीलाई पुष्ट्याइँ गर्ने मसँग आधार छन् । २ हजार साथीहरुले विश्वास गर्नुभएको छ । अध्यक्षको सहानुभूति मप्रति हुन्छ । सद्भाव रहने छ ।”

सोही कार्यक्रममा बस्नेतले महाधिवेशनमा आफूले सचिवमा उम्मेदवारी दिने पनि बताए ।

Share This:
सम्बन्धित खबर
Loading...