‘सेटिङ’मा देउवा प्रधानमन्त्री बने : खगराज अधिकारी

237

बुटवल । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) नेता खगराज अधिकारीले संसद् विघटनको फैसला उल्टाउने र शेरबहादुर देउवालाई परमादेशमा प्रधानमन्त्री बनाउन भूमिका खेलेका सर्वोच्चका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीशलाई हटाउन बारले आन्दोलन गरिरहेका बेला नेता अधिकारीले प्रधानन्यायाधीश मात्र हटेर समस्या समाधान नहुने भएकाले बाँकी चार जना न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताए । “सर्वोच्चको अहिलेको विवादले संसद् विघटनको फैसला उल्टाउने र परमादेशमा सरकार गठन गर्ने काम सेटिङमा भएको पुष्टि भएको छ,” उनले भने, “सेटिङमा संलग्न सबैले राजीनामा दिनुपर्छ ।”

राष्ट्रपतिको अधिकारको अपव्याख्या गरेर सर्वोच्चले फैसला गरेको र परमादेशबाट बनेको सरकारले फैसला गर्ने न्यायाधीश कसैलाई मन्त्री र कसैलाई तक्माको पुरस्कार दिएको बताउँदै उनले तक्मा लिनु भनेको घुस लिए सरह भएकाले ती सबैले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । “अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थ्य संस्थालाई कमजोर पार्ने काम भएको छ,” उनले भने ।

फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेन्ट भएको आरोप लगाएका छन् । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र माधव नेपालहरू लागेको र यसको फाइदा दक्षिणपन्थीले लिएको भन्दै अधिकारीले चुनावबाट एमाले फेरि सत्तामा फर्कने बताए ।

मदन भण्डारीले सुरु गरेको राष्ट्रिय स्वाधीनताको लडाइँलाई केपी ओलीले अगाडि बढाएको र त्यसैको फलस्वरूप कम्युनिस्ट पार्टी सत्तामा पुग्न सफल भएको उनको भनाइ छ । तर, वामपन्थी सरकारमा पुग्दा गम्भीर विचलन देखा पर्ने गरेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...