‘अदालतलाई युद्ध मैदान बनाइयो, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघसंस्थाले अनुगमन गरिदिउन्’

314

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्ध चलिरहेको आन्दोलनमा प्रहरीमार्फत दमन गरेर अदालतलाई युद्ध मैदान बनाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार काठमाडौँमा आकस्मिक बैठकपछि पत्रकार सम्मेलन गर्दै बारले आफूहरुको आन्दोलनमाथि हतियारधारी प्रहरीलगायत आक्रमण गरेको भन्दै आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघसंस्थालाई बारले अनुरोधसमेत गरेको छ । त्यस्तै बारले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दंगा प्रहरीसाथ एसएलआर जस्तो युद्धका बेला प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्य कदापी स्वीकार्य हुन नसक्ने बताए ।

उनले शुक्रबार ३ बजेसम्म पनि प्रधानन्यायाधीशको राजीनामा नआए थप सशक्त कदम चाल्ने चेतावनी दिए । उनले प्रधानन्यायाधीश भ्रष्टाचारको नाइके भएको दोहोर्याउदै प्रधानन्यायाधीशको राजीनामाका साथै सर्वोच्चको प्रतिवेदन लागु हुनुपर्ने आफूहरुको माग रहेको जनाए ।

अध्यक्ष श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएपनि राजीनामा नै दिनुपर्ने उल्लेख गरे । प्रधानन्यायधिशले तोकेको इजलासमा जानु भनेको अरु न्यायाधीश पनि दूषित भएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले घटनाले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको जिकिर गरे । बारमा भएको घटनाको छानबिन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई आह्वान गरेको उनले बताए ।

त्यस्तै, भट्टराईले अधिवक्तामाथि आक्रमण गर्ने उद्देश्यसहित बार परिसरभित्र केही व्यक्ति प्रवेश गरेको घटनाबारे पनि छानबिन हुनुपर्ने माग गरे ।

Share This:
सम्बन्धित खबर
Loading...