प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

288

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा राई १६ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री राईले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेकोसभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रदेश १ प्रदेशसभामा हाल ९२ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ४७ जना सदस्यको समर्थन चाहिन्छ । भण्डारीअनुसार बैठकमा उपस्थित ८० मध्ये प्रस्तावको पक्षमा ५०, विपक्षमा २९ र तटस्थ शून्य मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५० मत बहुमत रहेकाले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको भण्डारीले घोषणा गरेका हुन् ।

प्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टी (जसपा)का ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद् छन् ।

संविधानको धारा १६८ को उपधारा ४ मा धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार मुख्यमन्त्री राईले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने प्रताव राखेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...