काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् ।
उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाडपर्व मनाउने क्रममा विकृति देखा पर्न थालेकोमा चिन्त व्यक्त गरेका छन् ।
सबै खाले चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ । उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्यको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्,” सन्देशमा उनले भनेका छन्,“महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचार र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु ।”
जनताको लामो संघर्षपछि देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था, राजनीतिक परिवर्तन प्राप्त भएको उल्लेख गर्दै उनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दीगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताए ।
उपराष्ट्रपति पुनले संविधानको पूर्वपालनासँगै राजनीतिक स्थायित्व, दीगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई ऊर्जा थप्पे विश्वास व्यक्त गरेका छन् ।