महाधिवेशन तोकिएकै समयमा हुन्छ, अरुको कुरा नपत्याउनुस् : देउवा

271

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले शुक्रबार तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।

उनले पार्टीको महाधिवेशन समयमै हुनेमा शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले पार्टी महाधिवेशन स्वास्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टीभित्र दुश्मनी बढाउनु नहुने बताए ।

“अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वास्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् । त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ,” उनले भने,“जित हारमा दुश्मनी नबढोस्, पार्टीभित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस्, त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भने पनि कुरा नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन । निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन । अधिवेशनको तयारीमा लाग्नुहोला ।”

देउवाले आफूले मात्रै चाहेर महाधिवेशन नरोकिने बताए । महाधिवेशनका गर्ने निकायहरु प्रतिबद्ध भएर समयमै अधिवेशन गर्न लागिरहेको पनि उनले बताए ।

सभापति देउवाले १४औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म कुनै हालतमा गर्नेगरी निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...