काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।
शुक्रबार बिहान ८ बजेतिर सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी रहेको जनाइएको छ । उनीहरुबीच करिब एक घन्टा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा प्रचण्डले एमसीसीको बारेमा थप बहस आवश्यक रहेको बताएको उनको सचिवालयले जनाएको छ । यो राष्ट्रिय बहसको विषय बनिसकेको भन्दै अध्यक्ष प्रचण्डले यसमा सबै दलबीच सहमति हुनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।
सो अवरसमा उपाध्यक्ष सुमारले आफू कसैलाई दबाब दिन वा लबिङमा आएको नआएको बताउँदै एमसीसीको विषयमा अन्तरक्रिया गर्न आएको जानकारी दिएको भेटलाई उदृधत गर्दै अध्यक्ष प्रचण्डको सचिवालयले बताएको छ ।
बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले बिहीबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् ।