काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।
भेटमा नेता नेपालले आफूहरु राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागु गर्ने वा नगर्ने भन्ने निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी नेकपा (एस)का नेता गंगालाल तुलाधरले जानकारी दिए ।
“चार वर्षदेखि थाती रहेको विषय छ यो । अहिले हामी संयुक्त सरकारमा छौँ । हामीसँग मात्र होइन, अरु पार्टीसँग पनि कुरा गर्नुहोस्,” नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले भने,“यो नेपाली जनतासँग जोडिएको विषय हो । नेपाली जनताको हितमा छ भन्ने कुरा अहिले तपाईंहरु आएका बेला सुनिश्चित हुन पाओस् ।”
उनकाअनुसार भेतवार्तामा आफूहरुले सुमारलाई एमसीसीबारे धेरै प्रश्नहरु गरेको र तीबारेमा उनले स्पष्ट पार्न कोशिश गरेकी थिइन् ।
उपाध्यक्ष सुमारले एमसीसी नेपाली जनताको हितमा रहेको र कुनै अर्को स्वर्थका लागि नभएको दाबी गरेकी थिइन् ।
उपाध्यक्ष सुमारले नेपाललाई भेट्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी थिइन् ।