एमालेको विरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

225

रुपन्देही । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक बुधबार पनि स्थगित भएको छ ।

बुधबार बैठक सुरु भएलगत्तै एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । बैठक सुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताएपछि एमाले सांसद्हरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए ।

सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको र अब कारबाहीको सूचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने उनीहरुको भनाइ छ ।

एमालेले कारबाही गरेका सांसद्को विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका थिए ।

तर, नाराबाजी जारी नै भएपछि सभामुख घर्तिले बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित गरे । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि रहेको थियो । एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...